कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज दिउसो बस्न लागेको छ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

२४ देखि २८ मंसीरमा सम्पन्न महाधिवेशनबाट सभापतिसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।

जसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री छन्। त्यस्तै, १२१ केन्द्रीय सदस्य निर्वाचित भएका छन्। केन्द्रीय सदस्यबाटै कोषाध्यक्ष चयन गरिनेछ।

कांग्रेस केन्द्रीय सदस्यमा सबै क्लस्टरलाई समेटेको छ। नवनिर्वाचित केन्द्रीय सदस्यमध्ये खुलातर्फ ३५, महिलातर्फ नौ, सातै प्रदेशबाट २१, दलिततर्फ नौ, आदिवासी जनजातितर्फ १५,

खस आर्यतर्फ १३, मधेशीतर्फ नौ, थारुतर्फ चार, मुस्लिमतर्फ तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिको तर्फबाट एक–एक केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति १६४ सदस्यीय हुने व्यवस्था छ। अब ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्नेछन्।
नयाँ कार्यसमितिको पहिलो बैठकमा

कांग्रेस सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने र केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई स्वागत गर्ने कार्यसूची रहेको पौडेलले बताए।

यससँगै निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्ने पनि कार्यसूची छ। राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले १० पुससम्म दल दर्ता गर्ने समय दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *