बिहीबार सार्वजनिक बिदा

काठमाडाैं । नेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (पुस १५ गते) सार्वजनिक बिदा दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ ।

तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।

तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो बिकम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ ।

गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।

ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ ।

ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।

ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् ।

अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् ।

गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारा पनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *