उज्ज्वल थापाका आफन्तद्वारा उपचारका लागि दुर्गा प्रसाईंको सहयोग अस्वीकार

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाका आफन्तले थापाको उपचारका लागि दुर्गा प्रसाईंको सहयोग अस्वीकार गरेका छन् ।

कोरोना संक्रमण भई नेपाल मेडिसिटी अस्पतालमा उपचाररत थापालाई उपचार गर्न धेरै खर्च लाग्ने भएपछि उनको पार्टी अध्यक्ष रवीन्द्र मीश्रलगायत सहयोगी तथा शुभचिन्तकहरुले परिवारको सहमतिमा सहयोगका लागि अपिल गरेका छन् । सोही क्रममा झापाको बिर्तामोडस्थित एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका थिए ।

प्रसाईंको घोषणालगत्तै विवेकशीलसम्बद्ध बिजयबाबु शिवाकोटीले ‘जानकारी पत्र’ जारी गर्दै प्रसाईंको सो सहयोग नचाहिने भन्दै अस्वीकार गरेको हो । ‘चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नका लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउड फन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ । यस क्रममा हालसम्म गो फन्ड मीमा खोलिएको खातामा अमेरिकी डलर २२ हजार २९१ र नेपालमा बैंक खातामा करिब रू. २६ लाख ५० हजार जम्मा भएको छ,’ जानकारी पत्रमा लेखिएको छ, ‘हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकाले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’

शिवाकोटीले भविष्यमा समेत प्रसाईंको कुनै सहयोग नचाहिने स्पष्ट पारेका छन् । त्यसअघि प्रसाईंले आज शनिबार नै बी एण्ड सी मेडिकल कलेजको लेटरहेडमा एक विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका थिए ।

थापालाई प्रसाईंले नेपालको गणतन्त्र स्थापनामा लागेका एक असल सामाजिक अभियन्ताको संज्ञा दिँदै विज्ञप्तिमा लेखेका थिए– ‘बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलले सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकोले उपचारका क्रममा मेडिसिटी अस्पतालमा लागेको उहाँको सम्पूर्ण खर्च बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल बिर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

Leave a Reply

Your email address will not be published.