‘नारायणहिटी दरबारभित्र रेष्टुराँ बनाउने निर्णयमा मेरो संलग्नता छैन : भट्टराई

काठमाडौं । पूर्वपर्यटनमन्त्री एवम् एमाले नेता योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेष्टुराँ बनाउने विषयमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

नारायणहिटीमा रेष्टुराँ बनाउन सरकारले निजी कम्पनीलाई जिम्मा दिएको समाचार आएपछि पूर्वमन्त्री भट्टराईले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्पष्टीकरणसहितको धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘नारायणहिटी दरबार संग्रहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यससम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु ।’

उनले अगाडि लेखेका छन् ‘त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सबिनय अनुरोध गर्दछु । आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहीता नरहने स्वतः स्पस्ट छ । बिनाकसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु ।’

भट्टराईले नारायणहिटी संग्रहालयभित्र रेष्टुराँ बनाउने निर्णयमा आफ्नो संलग्नता रहेको पुष्टि गर्न चुनौती दिँदै भनेका छन्,

‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु । स्मरणरहोस म मन्त्री हुनुपूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।’

बतास कम्पनीले सस्तो भाडा बुझाएर रेष्टुराँ बनाउने निर्णय पर्यटनमन्त्री प्रेम आलेले निर्देशन दिएर रोकिसकेका छन् । तर पनि सामाजिक सञ्जालमा पूर्वपर्यटनमन्त्री भट्टराईको आलोचना रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published.