माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना सङ्क्रमण

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ।

माओवादी केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि अध्यक्ष दाहाल घरमै बसिरहेका थिए। केही दिनदेखि स्वास्थ्यमा समस्या भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गरिएको थियो।

आज बिहान आएको परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ। उनको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।”

अध्यक्ष दाहालको स्वास्थ्य सामान्य रहेको निजी सचिवालयले जनाएको छ। उनको सचिवालयले भनेको छ, ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको र स्वास्थ्य अवस्था सामान्य छ।’

यसबीचमा उनको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन र स्वास्थ्य परीक्षण गर्न अध्यक्ष दाहालले अनुरोध गरेका छन्।

कोरोना सङ्क्रमण देखिएपछि दाहाल आइसोलेसनमा बसेका छन्। जसले गर्दा पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाएको छ।

यसै गरी माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण भएको छ। उनले सामाजिक सञ्जाल मार्फत आफूलाई सङ्क्रमण भएको जनाउँदै सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन र परीक्षण गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *