यी अस्पतालमा कोरोना संक्रमितले पाउँछन् निःशुल्क उपचार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतमा रहेका ७८ वटा अस्पतालमा कोरोना संक्रमित बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरेको जनाएको छ ।

तिनमा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र केन्द्रका अस्पतालहरू समाविष्ट छन् ।

अहिले देशभरि सङ्क्रमण पुष्टि हुने बढिरहेको सरकारको तथ्याङ्कले देखाउँछ । अहिले फेला पर्ने नयाँ सङ्क्रमित तथा देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा हुनेको सङ्ख्या आधाभन्दा बढी छ ।

आइसोलेशन सेन्टर तथा अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या पनि बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

अहिले ३९ हजारभन्दा बढी सक्रिय सङ्क्रमितमध्ये सोमवारसम्म सरकारले तोकेका आइसोलेसन सेन्टर र अस्पतालमा भर्ना भएकाले बिरामीको संख्या १,१०० भन्दा बढी छ ।

सोमबार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार अहिले १३९ जना आईसीयू र २६ जना भेन्टिलेटरमा भएको मन्त्रालयले बताएको छ ।

निःशुल्क उपचार कसलाई ?

सरकारले तोकेका अस्पताल वा आइसोलेशन सेन्टरमा निःशुल्क सेवा लिनका लागि बिरामीमा कोभिड पुष्टि भएको हुनुपर्छ ।

त्यसरी सङ्क्रमित भएर आइसोलेशनमा बस्न जाने वा उपचार गर्ने बिरामी सरकारले तोकेका अस्पतालमा गए उनीहरूको उपचार निःशुल्क हुनेगरी हालै मन्त्रिपरिषद्ले निर्णय गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

“सङ्क्रमण पुष्टि भएका व्यक्तिले निःशुल्क रूपमा आइसोलेशनको सेवा पाउन सक्नुहुन्छ भने केही व्यक्ति अलि स्वास्थ्य जटिलता भएर अस्पताल जानुपर्यो भने सरकारी अस्पतालको हकमा निःशुल्क हुने व्यवस्था गरिएको छ,“ उनले भने ।

नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन देखा परेपछि सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेका बेला सरकारले विगतमा जस्तै कोभिड भएका बिरामीको उपचार निःशुल्क गर्ने निर्णय यसै साता गरेको हो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा निःशुल्क सेवा दिने अस्पतालको सङ्ख्या विस्तार गरिने मन्त्रालयले जनाएको छ ।

निजी अस्पतालमा कस्तो शुल्क?

बिरामीले सरकारले सम्झौता नगरेका निजी अस्पतालमा गएर पनि उपचार गर्न सक्छन् । त्यसरी उपचार गर्न सरकारले शुल्क तोकेको तिर्नुपर्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

अस्पतालको आइसोलेशनमा प्रतिबिरामी दैनिक ३,५०० रुपैयाँ, मध्यम जटिल केसमा ७,००० रुपैयाँ र गम्भीर बिरामीको आईसीयू र भेन्टिलेटरमा उपचारका लागि १५,००० रुपैयाँ अस्पतालले लिन सक्ने व्यवस्था सरकारले गरेको छ ।

सहप्रवक्ता अधिकारी भन्छन्, “सरकारी अस्पतालहरूले नपुग्ने अवस्था हुँदा स्वास्थ्य मन्त्रालयले अरू निजी अस्पतालहरूसँग पनि सम्झौता गरेर निःशुल्क हुने प्रबन्ध मिलाउँछ ।“

यस्ता अस्पतालमा सङ्क्रमितको उपचार गर्दा लागेको खर्च स्वास्थ्य मन्त्रालयले सम्बन्धित अस्पताललाई उपलब्ध गराउनेछ ।

स्वास्थ्यकर्मीको अवस्था कस्तो?

सङ्क्रमितको उपचार गराउने जिम्मेवारी पाएका अस्पतालका स्वास्थ्यकर्मीहरू पनि सङ्क्रमित हुने क्रम दिनदिनै बढेको सम्बन्धित अस्पतालहरूले जनाएका छन् ।

युनिफाइड केन्द्रीय अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतका अनुसार यो अवस्था बढ्दै गए जनशक्ति व्यवस्थापनमा समस्या पर्न सक्छ ।

“जनशक्ति आन्तरिक यताउता गरेर विभागहरूको नियमित कामलाई कम गरेर अहिलेसम्म चाहिँ व्यवस्थापन भइरहेको छ। तर बिस्तारैबिस्तारै अलि गाह्रो हुने देखिएको छ ।“

कहाँ पाइन्छ निःशुल्क उपचार?

सरकारले काठमाण्डू उपत्यकामा रहेका अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर, एम्बुलेन्सको उपलब्धताबारे जानकारी लिनका लागि स्वास्थ्य मन्त्रालयको ११३३ हटलाइन नम्बरमा जानकारी दिन सकिने जनाएको छ ।

सङ्क्रमित व्यक्तिले निःशुल्क उपचार पाउन तोकिएका अस्पताल यी हुन् ।

प्रदेश नं १

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

कोशी अस्पताल

मेची अस्पताल

इलाम अस्पताल र

जिल्ला अस्पतालसहित १४ वटा अस्पताल

मधेश प्रदेश (प्रदेश नं २)

नारायणी अस्पताल

प्रादेशिक अस्पताल जनकपुर

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजसहित सात अस्पताल

बागमती प्रदेश

वीर अस्पताल

सिभिल अस्पताल

शिक्षण अस्पताल महाराजन्ज

शहीद गङ्गालाल मुटु रोग अस्पताल

जनमैत्री अस्पताल

किस्ट अस्पताल

नेपाल मेडिकल कलेज

धुलिखेल अस्पताल

भक्तपुर अस्पताल

नेपाल कोरिया मैत्री हस्पिटल

नेपाल प्रहरी अस्पताल

श्री वीरेन्द्र अस्पताल

मनमोहन अस्पताल

सशस्त्र प्रहरी बल अस्पताल

राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्र

आनन्दवन अस्पताल

मानसिक अस्पताल

चापागाउँ अस्पताल

शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण अस्पताल र

पाटन अस्पताल

 

गण्डकी प्रदेश

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

सङ्क्रामक रोग अस्पताल कास्की

धौलागिरि अञ्चल अस्पताल

मध्यबिन्दु अस्पताल

बेनी अस्पताल

दमौली अस्पताल

 

लुम्बिनी प्रदेश

लुम्बिनी प्रादेशिक अस्पताल

भेरी अस्पताल

बेलझुन्डी कोभिड विशेष अस्पताल

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

नेपालगन्ज सैनिक अस्पताल र

कपिलवस्तु अस्पतालसहित आठवटा अस्पताल

 

कर्णाली प्रदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

प्रदेशका सबैजसो जिल्ला अस्पताल

सुदूरपश्चिम प्रदेश

सेती प्रादेशिक अस्पताल, धनगढी

महाकाली अस्पताल,

टीकापुर अस्पताल

डडेलधुरालगायत सबैजसो जिल्ला अस्पताल –बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *