वैशाखमा संसदीय चुनाव गर्ने प्रचण्डकाे प्रस्ताव बारे के भन्छ एमाले ?

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आउँदो वैशाखमा संसदीय निर्वाचन गर्ने प्रस्ताव गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नियतमाथि प्रश्न उठाएका छन् ।

वैशाखमा संसदीय चुनाव गर्ने प्रचण्डको प्रस्तावमा प्रतिक्रिया दिँदै उपमहासचिव ज्ञवालीले स्थानीय तह निर्वाचन अनिश्चित गर्ने नियतका साथ त्यस्तो प्रस्ताव गरेको भन्दै नियतमा प्रश्न उठाए ।

“पहिलो कुरा त यो प्रस्तावको नियत नै खराब छ । मूल त स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने मनसायका साथ यो प्रस्ताव आएको छ, जुन संवैधानिक, राजनीतिक सबै हिसाबले गलत हुन्छ,”

उपमहासचिव ज्ञवालीले भने, “उहाँहरूले एक वर्षदेखि सडक अराजकता मच्चाउनुभएको थियो । यो स्वतः त्यसको खण्डन पनि हो ।”

ज्ञवालीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अर्लि इलेक्सन’को कुरा उठाउँदा प्रतिगमन भनेर संसद्लाई एक दिनअघि पनि विघटन गर्नु हुँदैन भन्नेले अहिले आफैँ फरक प्रस्ताव ल्याउन थालेको बताए ।

“हिजो तत्कालीन प्रधानमन्त्रीले अर्लि इलेक्सन घोषणा गर्दा उहाँहरूले प्रतिगमन भन्नुभयो र संसद्लाई एक दिनअघि पनि विघटन गर्न पाइँदैन भन्नुभयो,”

उनले भने, “आज कुन आधारमा कुन तर्कका साथ उहाँहरू फेरि त्यो पार्लियामेन्टलाई बीचमै टुंग्याउँदै हुनुहुन्छ ?”

अहिलेको प्रस्तावले हिजो गरिएको विरोध निराधार थियो अथवा बदनियतपूर्ण ढंगले गरिएको थियो भन्ने प्रमाणित भएको उनको तर्क थियो ।

“वैशाखमै चुनाव गर्नुस् केही फरक पर्दैन । तर, स्थानीय तहको चुनाव कुनै पनि हालतमा सर्न पाउँदैन । जेठ ६ गतेभित्र स्थानीय तहका प्रतिनिधि आउनुपर्छ,” ज्ञवालीले भने ।

तीनवटै तहका निर्वाचन एकसाथ गर्न पनि सम्भव नहुने ज्ञवालीले बताए । “तीन तहका चुनाव एकैपठक गर्न मिल्दैन । प्राविधिक रूपमा पनि मिल्दैन ।

अरू हिसाबले पनि मिल्दैन,” ज्ञवालीले भने, “एकैपटक ११ ठाउँ भोट हाल्ने कुराले मतदातालाई दिगभ्रमित पार्छ । मतदाताको स्वतन्त्र विवेकमाथि पनि खेलबाड हुनसक्छ ।”

Leave a Reply

Your email address will not be published.