एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।

केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।

हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। आज ओलीले पत्रकार सम्मेलनसमेत गर्ने भएका थिए।

यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको छ।

अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको जानकारी एमालेले केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत दिने भएको छ । अध्यक्ष ओली पछिल्लो सार्वजनिक कार्यक्रममा भने गएका थिएनन् । आज एमालेको पत्रकार सम्मेलन हुने भनिएकोमा अध्यक्षलाई कोभिड संक्रमण भएपछि स्थगित भएको हो ।

नेपालमा पछिल्लो कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा मात्रै १० हजार २५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।परीक्षण घटेसँगै संक्रमित संख्या केही कम देखिएपनि लगातार पाँचौं दिन पनि १० हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

शनिबार २० हजार १८७ नमुना ९१४ हजार ४६२ पीसीआर र ५७२५ एन्टीजेन० परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।शनिबार भाइरस संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु भएको छ भने ७०८ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

मुलुकका १५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । १७ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *