एमालेको पोल्टामा जम्मा १ सिट, राष्ट्रिय सभामा अझै पहिलो दल !

काठमाडौं । राष्ट्रिय सभाको चुनाव हुने पक्का–पक्की भएपछि एमाले अध्यक्ष केपी ओलीले पाँच दलीय गठबन्धनतिर फर्किएर एउटा भाषण हाने । उनले भने, ‘यो राष्ट्रिय सभा चुनावमा हामीमाथि प्रहार हुन्छ । तर, यहि नै हामीमाथि हुने प्रहारको अन्तिम किस्ता हो ।’

नभन्दै त्यसै भयो । तर, पाँच दलीय गठबन्धनको घेराबन्दीमा परे पनि प्रमुख प्रतिपक्ष एमालेले राष्ट्रिय सभा निर्वाचनमा एक सिट हासिल गरेरै छाड्यो । जसले पाँच दलीय गठबन्धनको ‘क्लिनस्वीप’योजना विफल भयो । एमालेबाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् ।

१९ सांसदको चार वर्षे कार्यकाल सकिएपछि बुधबार भएको निर्वाचनमा एमालेले प्रदेश १ बाहेक अन्य ६ प्रदेशमा भने ७ सिट गुमायो । राष्ट्रिय सभामा अहिले एमालेको २४ सिट छ। यो चुनावमा सात सिट गुमाउँदा पनि माथ्लो सदनमा एमाले नै पहिलो दल कायम छ ।

एमालेपछि राष्ट्रियसभामा माओवादीको १४, कांग्रेसको ७, एकीकृत समाजवादी ७, जनता समाजवादी २, लोकतान्त्रिक समाजवादी पार्टीको १ सिट छ। बाँकी ३ जना राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

चार वर्षे कार्यकाल पूरा गरेका १९ सदस्यका लागि बुधबार मतदान भएको थियो। सात प्रदेशमा सात महिला, तीन दलित, दुई अपांगता तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा थिए।

नेकपा भंग र एमाले पनि विभाजित हुँदा २४ सदस्यसहित एमाले पहिलो दल नै थियो। निर्वाचनमा नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ।

एमालेले गुमाएको सात सदस्यमा नेपाली कांग्रेसले तीन, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समान १-१ र जसपाले १ सदस्य जितेका छन्।

एमालेबाट अगमप्रसाद बान्तावा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलको चार वर्षे पदावधि सकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *