चुनावकाे मिति तय भएकै दिन नेपाल बारले गर्याे दलहरूका विरुद्धमा भोट माग्ने घाेषणा

काठमाडाैं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको आन्दोलनमा सहयोग नगर्ने दलका विरुद्ध भोट माग्ने जनाएको छ।

प्रधानन्यायाधीश जबरा विरुद्धको आन्दोलन १०० दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरेर बारले सहयोग नगर्ने दलका विरुद्ध आगामी चुनावमा भोट माग्ने जनाएको हो।

पत्रकार सम्मेलनमा बारका महासचिव लिलामणि पौडेलले भने, “हाम्रो आन्दोलनलाई सहयोग नगर्ने दलका विरुद्ध आगामी चुनावमा भोट माग्छौं।”

न्यायालयमा विकृति बढ्नुमा भने प्रधानन्यायाधीश जबरा मात्रै कारक नरहेको उनको भनाइ थियो। “प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका कारण मात्रै न्यायापालिका ध्वस्त भयो भनेका छैनौं,” महासचिव पौडेलले भने, “न्यायालय प्रमुख भएकाले जिम्मेवारी लिनुपर्ने र सुधार गर्नतर्फ लाग्नुपर्ने मात्रै हाम्रो भनाइ हो।”

उनले बारको आन्दोलन अझै जारी रहेको बताए। न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग यथावत रहेको उनले बताए।

विभिन्न राजनीतिक दलको महाधिवेशन र कोरोनाभाइरसको संक्रमण फैलिएका कारण बारको आन्दोलनमा सहभागिता कम भएको उनको भनाइ थियो। “हामी डराएका वा थाकेका छैनौं,” पौडेलले भने।

उनले गोलाप्रथा प्रक्रियाबाट पेशी तोक्ने कुरा उपलब्धी भएको बताए।

Leave a Reply

Your email address will not be published.