कमल थापाले गरे नयाँ पार्टी घोषणा

काठमाडाैं । कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरेका हुन् ।

राजधानीमा आयोजित पार्टी घोषणसभालाई सम्बोधन गर्दै उनले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आएपनि त्यसो नगरेको बताए ।

आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएका कारण सो पार्टीलाई नफुटाएको दाबी समेत गरे । पार्टी घोषणसभामा सो पार्टीका नेता कार्यकर्ता बाजागाजासहित कार्यक्रमस्थलमा पुगेका थिए ।

थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास गरेको आरोप लगाए।

अध्यक्ष थापाले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्दीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नु परेको बताए।

शनिबार काठमाडौँका आयोजित पार्टीको औपचारिक घोषणासभामा बोल्दै उनले लिङ्देनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने, आफूहरुलाई पाखा लगाउने र धकेलेर पर पुर्‍याउने परिस्थिति भएपछि निरीह, लाचार र अपमानित भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुग्नु परेको बताए।

अध्यक्ष थापाले आफूसँग बहुमत पक्ष हुँदाहुँदै पनि राप्रपा विभाजन नगरेर अलग भएको पनि पटक–पटक दोहोर्‍याए। उनले राप्रपा नेपाललाई छिट्टै राष्ट्रवादी राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता पनि व्यक्त गरे।

अध्यक्ष थापाले भने, ‘मेरो त्यो अनुरोध केवल मेरो व्यक्तिगत अनुरोध मात्रै थिएन। देशभरीको धेरै ठूलो संख्यामा रहेका पार्टी कार्यकर्ताहरुको भावना त्यसमा गाँसिएको थियो।

तर त्यसलाई नजरअन्दाज गरेर मेरो एउटा सामान्य मागलाई रद्दीको टोकरीमा फाल्ने काम गरियो। त्यसपछि एक पक्षीय ढंगबाट, पूवाग्रहपूर्ण ढंगबाट पार्टी संचालन गर्ने कामहरु भयो।

हामीलाई योजनावद्ध रुपमा पाखा लगाउने, पार्टीबाट धकेलेर पर पुर्‍याउने परिस्थितिको निर्माण भयो। यसरी जब राप्रपा सैद्धान्तिक रुपमा विचलित हुन थाल्यो, संगठनात्मक रुपमा गलत प्रवृत्तिहरु हावी हुन थाले,

त्यो अवस्थामा यो पार्टीको संस्थापक नेता भएको नाताले ६३ सालपछि अत्यन्तै कठिन घडीमा पार्टीलाई नेतृत्व दिएर विचार प्रदान गरेको नाताले मैले निरीह, लाचार र अपमानित भएर पार्टीको पतनलाई हेरिराख्ने छुट र अनुमति मलाई थिएन। त्यो अवस्थामा मैले बाध्य भएर पार्टीबाट अलग हुनुपर्‍यो ।’

उनले थपे,‘राप्रपा नेपालको यो अभियान सुरु गर्दा हाम्रा कोही शत्रु छैनन्। हिजो हामीसँगै काम गरेका राप्रपा र त्यसका साथीहरुसँग पनि हाम्रो कुनै वैमष्यता र वैरभाव छैन। कसैप्रति हामी रिसराग राख्दैनौँ।

सकारात्मक सोचका साथ हामी अघि बढ्छौँ। हामीमा कसैप्रति नकारात्मक भाव हुनेछैन। यो पार्टी अन्य कुनै पार्टीको विरुद्धमा खुलेको पार्टी होइन।

यो पार्टी नेपालको राष्ट्रियतालाई बलियो बनाउने, सनातन धर्म, संस्कृतिको संरक्षण गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाउने, उद्धार अर्थतन्त्र र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ खडा भएको छ।’

त्यस अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालीन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अब आफूले कहिल्यै धोका नदिने पनि बताए।

कार्यक्रममा पूर्वमन्त्री राजीव पराजुलीसहितका नेताहरुले कमल थापाको नेतृत्वमा राप्रपा नेपाल मुलुकको भरपर्दाे राजनीतिक शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published.