पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, पेट्रोल र डिजेलको भाउ अहिलेसम्मकै उच्च

काठमाडाैं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले शनिबार रातीबाट लागू हुनेगरी पेट्रोल,डिजल र मट्टीतेलमा प्रतिलिटर रू. ३ का दरले मूल्य बढाएको हो।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर रू. १४५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. १२८ पुगेको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ।

१८ माघमा मात्रै मुल्य बृद्धि गरेको सरकारले तीन हप्ता नपुग्दै इन्धनको भाउ बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले स्थानीय बजारमा पनि विक्री मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

मूल्यवृद्धिका बावजूद अझै पेट्रोलमा प्रतिलिटर १६ रूपैयाँ ५९ पैसा, डिजलेमा प्रतिलिटर १२ रूपैया ९८ पैसा घाटा रहेको निगमको दाबी छ। मूल्यवृद्धिका बावजूद निगमको १५ दिनको घाटा रू. २ अर्ब १५ करोड हुने निगमले जनाएको छ।

एमसीसी अनुमोदन गर्ने/नगर्ने भन्ने निर्णय नेपालको होः अमेरिका

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने केबल नेपालको सार्वभौम निर्णय रहेको स्पष्ट पारेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार साँझ विज्ञप्ति जारी गरी एमसीसीको अनुमोदन गर्ने वा नगर्ने निर्णय नेपाली नेताहरुले गर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिउको छ,‘ यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन् ।

यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ ।

नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।’

दूतावासले ५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार भएको र हाम्रा मुलुकहरूबीचको एउटा साझेदारी भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबीचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ ।

यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ।’ दूतावासले शुक्रबार एमसीसीको विरोधका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने बताएको थियो ।

उता, शुक्रबार वेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अमेरिकाले नेपालमाथि बलजफ्ती कूटनीति गर्न खोजेको टिप्पणी गरेका थिए ।

चीनको यस्तो भनाई आएको भोलिपल्ट अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी आफ्नो थप धारणा सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published.